हुम्लामा एलपी ग्यासको अभाव
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। लामो समयदेखि नियमित आपूर्ति हुन नसक्दा सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढेको हो।
हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या होइन। भौगोलिक विकटता, ढुवानीको कठिनाइ तथा यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ।
बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर सिमकोट आइपुगेका थिए। तर, ग्यास लिन २७० वटा खाली सिलिन्डर लाइनमा राखिएका थिए। मागको तुलनामा आपूर्ति आधाभन्दा कम भएपछि अधिकांश उपभोक्ता ग्यास पाउने अवस्थाबाट वञ्चित भएका छन्।
आदित्य जनरल स्टोरका प्रोप्राइटर रेशम महतका अनुसार जिल्लामा ग्यासको माग अत्यधिक भए पनि पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन। उनका अनुसार भरिएको एउटा सिलिन्डर ग्यासको मूल्य ३ हजार २०० रुपैयाँ पर्छ।
नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताले ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। भौगोलिक कठिनाइका कारण हुम्लामा ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन थप प्रभावकारी ढुवानी व्यवस्थाको आवश्यकता देखिएको छ।