श्रीनगर विमानस्थलमा इन्डिगोको विमान खम्बामा ठोक्कियो
काठमाडौं । भारतको श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा ठोक्किएको छ। दुर्घटनामा विमानमा सवार करिब २०० यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ।
नवी मुम्बईबाट शुक्रबार बिहान श्रीनगर पुगेको विमान बिहान करिब ९ बजे बे नम्बर–६ मा पार्किङ गर्ने क्रममा खम्बामा ठोक्किएको हो। घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन।
दुर्घटनापछि यात्रु तथा चालक दलका सदस्यलाई म्यानुअल विमान सिँढीको सहायताले सुरक्षित रूपमा विमानबाट ओरालिएको थियो। घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
विमान ठोक्किएको खम्बा भिजुअल डकिङ गाइडेन्स सिस्टम (भीडीजीएस) को हिस्सा रहेको बताइएको छ। उक्त प्रणालीले विमानलाई पार्किङ बेमा सही स्थानमा ल्याउन र सुरक्षित रूपमा पार्क गर्न पाइलटलाई सहयोग गर्छ।
ठक्करका कारण विमानको अगाडिको भाग अर्थात् नोजमा क्षति पुगेको छ। विमानको अगाडिको भाग करिब एक फिटसम्म भित्र धसिएको बताइएको छ।
विमानको सबैभन्दा अगाडिको बाहिरी कभरलाई रेडोम भनिन्छ। यसको पछाडि सामान्यतया वेदर रडार जडान गरिएको हुन्छ, जसले उडानका क्रममा वर्षा, आँधी तथा खराब मौसम पहिचान गर्न सहयोग गर्छ। रेडोमले रडारलाई सुरक्षित राख्नुका साथै रेडियो तरंग आवतजावत गर्न दिन्छ।
विमानको नोज तथा आसपास पिटोट ट्युब, एंगल अफ अट्याक सेन्सर, तापक्रम सेन्सर र एन्टेनालगायतका उपकरण जडान गरिएका हुन्छन्। खम्बासँगको ठक्करबाट रेडोम, वेदर रडार तथा यी संवेदनशील उपकरणमा समेत क्षति पुगेको हुनसक्ने भएकाले विमान पुनः उडाउनुअघि विस्तृत प्राविधिक परीक्षण आवश्यक हुने बताइएको छ।
घटनाका बाबजुद श्रीनगर विमानस्थलको सञ्चालन सामान्य रहेको र सबै उडान निर्धारित समयअनुसार सञ्चालन भइरहेको जनाइएको छ।