लक्ष्मी सनराइज बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग
लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीले घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत क्षति पुर्याएको बैंकले जनाएको छ।
तत्कालीन उद्धार तथा राहतका काम क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेको बैंकको भनाइ छ।
बैंकले आफ्नो योगदानमार्फत प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन तथा पुनर्निर्माणका काम अघि बढाउन भइरहेको सामूहिक राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्य राखेको जनाएको छ।
लक्ष्मी सनराइज बैंकले विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति सम्मान व्यक्त गरेको छ।
बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।