कृष्णभीरमा नयाँ ट्र्याक खोलिँदै, दुवैतर्फबाट काम सुरु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम शुक्रबार बिहानदेखि सुरु गरिएको छ। सडक भासिएर यातायात अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा डाँडा काटेर ट्र्याक खोल्न थालिएको हो।
निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार कृष्णभीरको दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको छ। माथिल्लो भागमा मजदुरहरूले ग्याबिन भत्काउने, झाडी सफा गर्ने तथा अन्य अवरोध हटाउने काम गरिरहेका छन्।
उनका अनुसार सडकको छेउबाट करिब सात मिटर पर नयाँ ट्र्याक खोलिनेछ। ट्र्याक खोल्ने काम एक सातादेखि १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार ट्र्याक खोल्नुअघि दुई दिनसम्म रुख तथा बाँस काट्ने, झाडी फाँड्ने र ग्याबिन हटाउने काम गरिएको थियो। त्यसपछि शुक्रबारदेखि डाँडा काटेर ट्र्याक निर्माण सुरु गरिएको हो।
सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडा काटेर करिब ३५० मिटर लामो र सात मिटर चौडा ट्र्याक निर्माण गर्न लागिएको मिश्रले जानकारी दिए।
यसअघि सञ्चालनमा रहेको कृष्णभीरको करिब २०० मिटर सडकखण्ड भासिएर चिरिएको छ। उक्त स्थानमा १० मिटर चौडाइको सडक थियो। त्रिशूली नदीले सडकको फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो।
भदौ १४ गते सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौंसँग जोडिने सडक सञ्जाल अवरुद्ध भएको छ। सरकारले सडकलाई यथासक्य छिटो सञ्चालनमा ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिइसकेको छ। भदौ महिनाभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।
कृष्णभीरको उक्त सडकखण्ड मर्मतसम्भार भएपछि २०६० सालदेखि यातायात सञ्चालन सहज हुँदै आएको थियो। सडकको दुवैतर्फ कडा चट्टान रहे पनि भीरको बीचमा करिब ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इन्जिनियर मिश्रले बताए। अहिले समस्या देखिएको भाग पनि यही कमजोर क्षेत्रमा पर्छ।
गत वर्ष पनि सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मतको काम भइरहेको थियो। तर, त्रिशूली नदीले सडकको आधार संरचना नै बगाएपछि पुनः ठूलो क्षति पुगेको हो।