पीडितलाई राहत दिनु पहिलो प्राथमिकता हुनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्मा परेका नागरिकलाई प्रत्यक्ष राहत उपलब्ध गराउनु अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले सरकारी कोषमा रकम जम्मा गर्दा लामो समय थन्किन सक्ने भन्दै राहत सिधै पीडितको हातमा पुर्याउनुपर्ने बताए। पीडितलाई सहयोग गरेपछि अवस्था र हैसियतअनुसार मात्र बाँकी रकम सरकारी कोषमा दाखिला गर्न सकिने उनको भनाइ थियो।
ओलीले ‘ग्रिन आर्मी’ भनिएको समूहको अस्तित्वप्रति समेत प्रश्न उठाउँदै गत वर्षका राजनीतिक आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनामा उक्त समूहको संलग्नताबारे गम्भीर रूपमा सोच्नुपर्ने बताए।
नेपालले वातावरणीय विनाशमा ठूलो भूमिका नखेले पनि जलवायु परिवर्तनको असरबाट क्षति व्यहोर्नुपरेको भन्दै उनले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमार्फत विकसित देशसँग क्षतिपूर्ति माग गर्नुपर्नेमा जोड दिए।