बाढीपीडितको आँगनमा युवा संघ नेपाल : धर्म शाहीको नेतृत्वमा विदुर–७ पुग्दै टोली
नुवाकोट, भदौ १९ ।
विपद्को पीडामा राज्यको उपस्थिति कमजोर देखिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट युवा संघ नेपाल बाढी प्रभावित नागरिकको घरदैलोमा पुग्ने भएको छ। युवा संघ नेपालका संयोजक धर्म शाहीको नेतृत्वमा टोली नुवाकोटको विदुर नगरपालिका–७ स्थित बाढी प्रभावित क्षेत्रमा पुग्न लागेको हो।
बाढीबाट प्रभावित नागरिकको वास्तविक अवस्था बुझ्ने, पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने तथा आवश्यक राहत उपलब्ध गराउने उद्देश्यसहित युवा संघ नेपालले टोली परिचालन गरेको कार्यालय कमिटी सदस्य बलराम प्रसाद उप्रेतीले जानकारी दिनुभएको छ।
“विपद्को समयमा भाषण होइन, जनताको बीचमा पुगेर साथ दिनुपर्छ” भन्ने मान्यताका साथ युवा संघ नेपाल प्रभावित क्षेत्रमा जान लागेको उप्रेतीले बताउनुभयो।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीको प्रभाव विदुर नगरपालिका क्षेत्रसम्म परेको छ।
धर्म शाहीको नेतृत्वमा जाने टोलीले विदुर–७ का बाढी प्रभावित परिवारलाई राहत वितरण गर्नुका साथै उनीहरूको पीडा, आवश्यकता र समस्याबारे प्रत्यक्ष जानकारी लिने जनाइएको छ। साथै, तत्काल आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग पहल र समन्वय गर्ने बताइएको छ।
