त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्काको अवस्था सामान्य रहेको छ।
दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनलाई काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उनको सघन उपचार भइरहेको छ।
सुरुङबाट पहिलो पटक उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य र स्थिर रहेको छ। थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि वीरेन्द्र सैनिक अस्पताल ल्याइँदैछ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिकसहितको संयुक्त टोलीले शुक्रबार बिहान सुरुङभित्र उद्धार अभियान सञ्चालन गरी दुवै जनालाई जीवितै बाहिर निकालेको हो। बाढी आएदेखि नै सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास हुँदै आएको थियो।