नेपालका बाढीपीडितलाई थाइल्यान्डको ७० लाख भाट सहयोग
नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट नगदसहित आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ।
नेपालको प्राथमिकता र आवश्यकताका आधारमा थाइल्यान्डले उक्त मानवीय सहायता प्रदान गरेको हो। थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आज प्रधानमन्त्री कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई सहयोग हस्तान्तरण गरेका हुन्।
नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले समयमै उपलब्ध गराइएको मानवीय सहायताका लागि थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन्। उनले थाइल्यान्डको सहयोगले नेपाल र थाइल्यान्डबीचको दीर्घकालीन मित्रता, एकजुटता र घनिष्ठ सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताए।
थाइल्यान्ड सरकारले उपलब्ध गराउने नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यस्तै, आपत्कालीन राहत सामग्रीसमेत यथाशीघ्र नेपाल पठाइने जनाइएको छ।
थाइल्यान्डका प्रधानमन्त्री चार्नविराकुलले आगामी दिनमा पनि नेपालको आवश्यकता र प्राथमिकताका आधारमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।