निजामती कर्मचारी अस्पतालको सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत पनि उपलब्ध
काठमाडौँ — अब निजामती कर्मचारी र उनीहरूका परिवारले काठमाडौँ उपत्यका बाहिर पनि सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएका छन्। निजामती कर्मचारी अस्पताल ले गरेको नयाँ सम्झौताअनुसार सो सेवा पोखरामा समेत विस्तार गरिएको छ।
सम्झौतापछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बाट पनि निजामती कर्मचारी र उनीहरूका परिवारले अस्पतालले तोकेको सहुलियतदरमा स्वास्थ्य सेवा लिन सक्ने भएका छन्।
प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालका अनुसार करिब एक साताअघि सम्झौता भएपछि आवश्यक व्यवस्थापन पूरा गरी सेवा सुरु गरिएको हो। उनका अनुसार यस व्यवस्थाले अब पोखरा तथा आसपासका जिल्लामा कार्यरत कर्मचारीहरूलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता कम हुनेछ।
सम्झौताअनुसार निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले ओपीडी सेवा, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पतालका सम्पूर्ण सेवामा निजामती कर्मचारी अस्पतालले निर्धारण गरेको सहुलियत दरमा उपचार पाउनेछन्। यसका लागि सहुलियत उपचार कार्ड अनिवार्य गरिएको छ।
सेवा लिनका लागि कर्मचारीले निजामती कर्मचारी अस्पतालले जारी गरेको उपचार सहुलियत परिचयपत्र, कार्यरत कार्यालयको परिचयपत्र र अवकाशप्राप्त कर्मचारीको हकमा पेन्सन पट्टाको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस सेवाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका परिवारलाई सहज र नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।