चितवनका १५ वर्षीय बालक काठमाडौंको गंगबुबाट सकुशल उद्धार, पाँच भारतीय नागरिक पक्राउ
काठमाडौं — चितवनबाट अपहरण गरिएका १५ वर्षीय एक बालकलाई काठमाडौंको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार असार १ गते साँझ चितवनको नारायणगढबाट बालकलाई अपहरण गरी भारतीय नम्बर प्लेटको गाडीमा काठमाडौं ल्याइएको थियो। अपहरणकारीहरूले उनलाई गंगबुस्थित होटलमा बन्धक बनाई परिवारसँग २२ लाख रुपैयाँ फिरौती माग गरेका थिए।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारतको बिहार राज्यका १८ वर्षीय सुजित कुमार, गोलु कुमार सोनी, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिद रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको खुलेको छ।
अनुसन्धानअनुसार अपहरणकारीहरू जेठ ३० गते नेपाल प्रवेश गरी चितवन पुगेका थिए। असार १ गते उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बालकलाई सम्पर्क गरी विद्यालय नजिक बोलाएका थिए। त्यसपछि बालकलाई गाडीमा राखी पहिले चितवनमै राखेर पछि धम्की दिँदै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
घटनाको महत्वपूर्ण पक्ष भने बालकको साहसिक प्रयास रहेको छ। बन्धक अवस्थामा रहेका बालकले आफू अपहरणमा परेको जानकारी कागजमा लेखी आफ्नो नाम, बुबाको नाम र सम्पर्क नम्बरसमेत उल्लेख गरेर होटल बाहिर फालिदिएका थिए। उक्त कागज फेला पारेपछि एक व्यक्तिले परिवारलाई खबर गरेका थिए।
त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजी सुरु गरिएको थियो। सूचनाका आधारमा गंगबुस्थित होटलमा पुगेको प्रहरीले असार २ गते बालकको सकुशल उद्धार गरेको हो।
पक्राउ परेका सबै आरोपीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।