नारायणी र भोटेकोशी नदीबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
नवलपरासी/सिन्धुपाल्चोक — दुई छुट्टाछुट्टै घटनामा सशस्त्र प्रहरीले नदीमा फसेका तथा हाम फालेका व्यक्तिहरूको सकुशल उद्धार गरेको छ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका ६२ वर्षीय झनक प्रसाद पौडेललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीको टोलीले सकुशल उद्धार गरेको हो। देवचुली नगरपालिका–११ धारापानीका बासिन्दा पौडेललाई मोटर बोटको सहयोगमा उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। उनको अवस्था हाल सामान्य रहेको छ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीमा अड्किएका २३ वर्षीय संजिव विकलाई पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। असार ४ गते नदीले बगाएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारी उद्धार गरेको हो।
उद्धारपछि विकलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले दुवै घटनामा समयमै उद्धार कार्य सम्पन्न भएकाले सम्भावित मानवीय क्षति टरेको जनाएको छ।