भ्रष्टाचार आरोपमा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा योशिता पक्राउ
कोलम्बो — श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा योशिता राजपाक्षे भ्रष्टाचार सम्बन्धी आरोपमा पक्राउ परेका छन्। श्रीलंकाको भ्रष्टाचार विरोधी आयोगले बुधबार उनलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको हो।
आयोगका अनुसार ३८ वर्षीय योशितामाथि नौसेना अधिकारीका रूपमा अन्तर्राष्ट्रिय तालिम प्राप्त गर्न सरकारी स्रोतसाधनको दुरुपयोग गरेको आरोप लागेको छ। आवश्यक योग्यता पूरा नगरे पनि उनी नौसेनाको उच्च पदमा पुगेको तथा सरकारी खर्चमा बेलायतमा तालिमका लागि पठाइएको आरोप अनुसन्धानको केन्द्रमा रहेको छ।
योशिता राजपाक्षे यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई वटा मुद्दामा अभियुक्त बनिसकेका छन्। ती मुद्दामा उनी धरौटीमा रिहा भएका थिए भने विदेश भ्रमणमा समेत प्रतिबन्ध लगाइएको थियो।
भ्रष्टाचार विरोधी आयोगले उनलाई कोलम्बोको मुख्य मजिस्ट्रेट अदालतमा उपस्थित गराएपछि अदालतले पुनः धरौटीमा रिहा गर्न आदेश दिएको छ। आदेशसँगै उनी जेल नपठाई बाहिरै रहने भएका छन्।
राजपाक्षे परिवारका सदस्य तथा उनीहरू निकट व्यक्तिविरुद्ध विगत केही वर्षयता भ्रष्टाचार, शक्ति दुरुपयोगदेखि गम्भीर आपराधिक आरोपसम्मका विभिन्न मुद्दा दर्ता भएका छन्। यद्यपि तीमध्ये अधिकांश मुद्दा अझै अदालतमा विचाराधीन छन्।
श्रीलंकाका वर्तमान राष्ट्रपति अनुराकुमार दिशानायके भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएर सत्तामा आएका थिए। उनको नेतृत्वमा राजपाक्षे परिवारसँग सम्बन्धित पुराना मुद्दाहरूको अनुसन्धानलाई थप तीव्रता दिइएको बताइएको छ।