मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको तयारी पूरा, जोखिम क्षेत्रमा सुरक्षा निकाय परिचालन
काठमाडौं — सरकारले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। जोखिमयुक्त क्षेत्रहरूमा सुरक्षा निकाय परिचालन गरिसकिएको र आवश्यक परे हवाई उद्धारका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको सरकारको भनाइ छ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्यका लागि आवश्यक सबै तयारी सम्पन्न भएको जानकारी दिए। उनले सम्भावित विपद्का घटनामा तत्काल उद्धार, राहत र पुनःस्थापनाका कार्य प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताए।
मन्त्री गुरुङका अनुसार जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक परे हेलिकप्टर परिचालन गरिनेछ। साथै बाढी, पहिरो वा अन्य कारणले सडक अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन आवश्यक उपकरण तथा पूर्वाधारको व्यवस्था गरिएको छ।
उनले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा नागरिक सेवामा प्रभावकारी रूपमा खटिन र कानुन उल्लंघन गर्ने कसैलाई पनि उन्मुक्ति नदिन निर्देशन दिइएको जानकारी दिए।
बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुन पूर्वतयारीबारे विस्तृत छलफल भएको बताए। उनका अनुसार यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान भए पनि वर्षा सीमित क्षेत्रमा अत्यधिक केन्द्रित हुन सक्ने भएकाले सोहीअनुसार तयारी गरिएको छ।
प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने आकलन गरिएको छ।
सरकारले सम्भावित विपद्को प्रभाव न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।