अमेरिका–इरान सम्झौतामा लेबनान मोर्चा पनि समेटियो, क्षेत्रीय तनावबारे चासो कायम
वासिङ्टन/तेहरान — अमेरिका र इरानबीच भएको नयाँ सम्झौतामा लेबनानसहित विभिन्न क्षेत्रीय मोर्चामा सैन्य गतिविधि अन्त्य गर्ने व्यवस्था समावेश गरिएको बताइएको छ। सम्झौताको पहिलो बुँदामै अमेरिका र उसका सहयोगीहरूले सबै युद्ध मोर्चामा सैन्य कारबाही समाप्त भएको घोषणा गर्ने उल्लेख गरिएको छ।
लेबनानमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि जारी तनाव तथा युद्धविराम उल्लङ्घनका आरोप–प्रत्यारोपका कारण यो विषय क्षेत्रीय राजनीतिमा महत्वपूर्ण मानिएको छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इजरायलले लेबनानमाथि आक्रमण जारी राखे त्यसलाई सम्झौता उल्लङ्घनको रूपमा लिइने बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थितिलाई पनि युद्ध अन्त्यसम्बन्धी समझदारीको भावना विपरीत रहेको बताएका छन्।
यसबीच इजरायली सेनाले बुधबार दक्षिणी लेबनानमा नयाँ हवाई आक्रमण गरेको जनाएको छ। साथै दक्षिणी लेबनानमा भएको एक घटनामा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको जानकारी पनि इजरायली पक्षले दिएको छ।
फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा स्थायी शान्ति स्थापना अझै चुनौतीपूर्ण रहेको बताएका छन्। उनले इरानसँग भएको सम्झौतलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
हालसम्म इजरायली सरकारले अमेरिका–इरान सम्झौताबारे औपचारिक सार्वजनिक प्रतिक्रिया दिएको छैन।
गत मार्च २ मा हिजबुल्लाहले इरानका सर्वोच्च नेतामाथि भएको आक्रमणको प्रतिशोधस्वरूप भन्दै इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा तनाव चर्किएको थियो। त्यसपछि इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण तीव्र बनाउनुका साथै दक्षिणी क्षेत्रमा स्थल सैन्य कारबाहीसमेत सञ्चालन गरेको थियो।