मन्त्रीहरूले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमाले प्रमुख सचेतक ऐन महरको आपत्ति
काठमाडौं — नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरूले प्रतिनिधिसभाको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको रुलिङ माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले संसदको गरिमा र मर्यादा कायम राख्नु सबै सांसद तथा सरकारका जिम्मेवार पदाधिकारीहरूको दायित्व भए पनि मन्त्रीहरूले नियमविपरीत व्यवहार गरेको आरोप लगाए।
उनका अनुसार सांसदहरूले आफ्ना धारणा राखिरहेको समयमा मन्त्रीहरू अगाडिबाट हिँड्ने कार्य प्रतिनिधिसभा नियमावली विपरीत हो। यस्तो व्यवहारले संसदको मर्यादामा असर पार्ने भन्दै उनले तत्काल ध्यानाकर्षण गराउन सभामुखसँग रुलिङको माग गरेका हुन्।
महरले सरकार अझ बढी जिम्मेवार बन्नुपर्ने र प्रतिनिधिसभाको गरिमा तथा मर्यादा कायम राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यस विषयमा सरकारका मन्त्रीहरूको तर्फबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।