भोटेकोशी बाढीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा २४ वर्षीय युवक पक्राउ
भोटेकोशीमा आएको बाढीबाट जनधनको क्षति भएको विषयमा सामाजिक सहिष्णुतामा खलल पुग्ने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।
साइबर ब्युरोका एसपी दिलीपकुमार गिरीका अनुसार मडैलाई भदौ २० गते पक्राउ गरिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार भोटेकोशी बाढीमा मानिसहरू बगाएको घटनालाई लिएर मडैले खुसी व्यक्त गर्दै विभिन्न जाति समुदायलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका थिए। उनले मानिसहरू बगाउँदा राम्रो भएको र जनसङ्ख्या घटेको भन्दै सामाजिक सद्भावमा खलल पुग्ने अभिव्यक्ति दिएको प्रहरीको दाबी छ।
मडैले उक्त अभिव्यक्तिसहितको भिडियो बनाएर फेसबुक रिलमार्फत प्रसारण गरेका थिए। सोही विषयमा साइबर ब्युरोले अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको हो।
मडै काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा बस्दै आएको प्रहरीले जनाएको छ। पक्राउपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।