इच्छाकामना र सहिद लखनलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीले चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।
भोटेकोशी बाढीबाट दुवै गाउँपालिकाका नदी तटीय क्षेत्र प्रभावित भएको भन्दै उनले राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि राज्यको थप सम्बोधन आवश्यक रहेको बताए। बाढीले नदी किनारका होटल तथा उद्योगमा समेत क्षति पुर्याएको उनको भनाइ छ।
बुर्लाकोटीले यस विषयमा सरकार र पार्टीमा समेत कुरा राखिसकेको जानकारी दिँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भए प्रभावितलाई राहत तथा पुनर्निर्माणमा सहज हुने बताए।
सरकारले यसअघि रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। उनले त्यसमा इच्छाकामना र सहिद लखनलाई समेत समेट्न माग गरेका हुन्।