बाढीबारे खुसी व्यक्त गर्दै भिडियो पोस्ट गर्ने युवक पक्राउ
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडैलाई शनिबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार मडैले बाढीबाट ठूलो जनधनको क्षति भएको घटनाबारे सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै भिडियो पोस्ट गरेका थिए। उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
मडैलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।
भोटेकोशी–त्रिशूली बाढीपछि सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा सामाजिक सद्भाव भड्काउने सामग्रीप्रति प्रहरीले निगरानी बढाएको छ। प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशील विषयमा जिम्मेवार र संयमित अभिव्यक्ति दिन आग्रह गर्दै आएको छ।