भोटेकोशी बाढीमा बेपत्ता १ सय ६१ शव काठमाडौं ल्याइयो, २३ शव मात्र पहिचान
भोटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोट जिल्लाबाट संकलन गरिएका १ सय ६१ शव काठमाडौं ल्याइएको छ। तीमध्ये हालसम्म २३ वटा शव मात्र पहिचान भई आफन्तले बुझेर लगेका छन्।
पहिचान हुन नसकेका शवलाई ‘व्यवस्थापन संरक्षण’ गर्ने तयारी भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार शवको पोस्टमार्टम तथा डीएनए नमुना संकलन गर्ने काम आइतबारदेखि नै सुरु गरिएको थियो।
सोमबार बिहान १० बजेसम्म ५० वटा शव व्यवस्थापनका लागि तयार भइसकेका छन्। बाँकी शवको पनि दिनभर पोस्टमार्टम गरी डीएनए नमुना सुरक्षित राखेपछि व्यवस्थापन गरिने थापाले बताए।
काठमाडौं ल्याइएका शवहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका छन्। अस्पतालमा शव दाबी गर्न आउने आफन्तको भीड लागेको छ। दावीकर्तालाई शव हेर्न दिने र आफन्त भएको प्रमाणित भएपछि शव जिम्मा लगाउने काम पनि सँगसँगै भइरहेको प्रहरीले जनाएको छ।
यसअघि काठमाडौं ल्याइएका ८५ वटा शवलाई आईसीआरसी प्रोटोकलअनुसार व्यवस्थापन संरक्षण गरिएको थियो। भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा ती शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो।
व्यवस्थापन गरिएका शवको डीएनए नमुना सुरक्षित राखिएको छ। भविष्यमा कसैले ती शवमध्ये कुनैलाई आफ्नो आफन्त भएको दाबी गरेमा दावीकर्ताको समेत डीएनए नमुना संकलन गरिनेछ। दुवै नमुना म्याच भएमा व्यवस्थापन गरिएको शव उत्खनन गरी आफन्तलाई बुझाउने व्यवस्था रहेको एसपी थापाले बताए।
उनका अनुसार व्यवस्थापन गरिएका शवलाई नगल्ने गरी सुरक्षित रूपमा राखिएको छ। पहिचान हुन नसकेका थप शव पनि सोही वन क्षेत्रमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।