त्रिशूली–३ बीमा फसेकाको खोजी तीव्र पार्न माग गर्दै माइतीघरमा प्रदर्शन
रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकको तत्काल उद्धार र खोजी कार्यलाई तीव्रता दिन माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
आयोजनामा कार्यरत कर्मचारीका आफन्त तथा बाढी प्रभावितहरूले प्रदर्शन गर्दै सरकारले उद्धार तथा खोजी कार्यलाई प्राथमिकता नदिएको आरोप लगाए। उनीहरूले आफ्ना आफन्तको अवस्थाबारे जानकारी दिन र खोजीका लागि घटनास्थलसम्म जान दिनसमेत सरकारसँग माग गरेका छन्।
बाढीपछि आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएपछि खोजी तथा उद्धारमा कठिनाइ भइरहेको सरकारले बताउँदै आएको छ।
तर पीडितहरूले उद्धारमा कठिनाइ हुनु सरकार पन्छिने कारण बन्न नसक्ने बताएका छन्। उनीहरूले हेलिकप्टरलगायत आधुनिक तथा उपयुक्त उपकरण प्रयोग गरेर तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेका छन्।
पीडितहरूले सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भए जीवितै र मृत्यु भएको अवस्थामा शव भए पनि आफन्तलाई उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै, आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि खोजी तथा उद्धार कार्य तत्काल तीव्र बनाउन उनीहरूले आग्रह गरेका छन्।
बाढी गएको ११औँ दिनसम्म पनि अन्य क्षेत्रमा जीवित व्यक्तिको उद्धार भइरहेको उदाहरण दिँदै आफन्तहरूले त्रिशूली–३ बीमा पनि समयमै खोजी गरिए जीवित व्यक्तिको उद्धार सम्भव हुन सक्ने आशा व्यक्त गरेका छन्। उनीहरूले सरकारले उद्धार कार्यलाई कुनै एक क्षेत्रमा मात्र सीमित नगरी त्रिशूली–३ बीलाई समेत उच्च प्राथमिकतामा राख्न माग गरेका छन्।