लुम्बिनीका निजी अस्पतालको नवीकरण अवधि पाँच वर्ष बनाउन माग
लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग माग गरेका छन्।
बुटवलमा स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग भएको भेटमा निजी अस्पताल सञ्चालकहरूले पटक–पटक नवीकरणको प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्दा स्वास्थ्य सेवा प्रवाहमा समेत असहजता हुने गुनासो गरे। नियमित अनुगमन र नियमन जुनसुकै बेला गर्न सकिने भएकाले नवीकरण अवधि बढाउनु व्यावहारिक हुने उनीहरूको भनाइ छ।
निजी स्वास्थ्य संस्थाका लागि स्पष्ट नीति बनाउन, स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गर्न तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापनमा सहजीकरण गर्न पनि उनीहरूले माग गरेका छन्। निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी स्वास्थ्य संस्थाबीच नियमित संवाद आवश्यक रहेको सञ्चालकहरूले बताए।
मन्त्री पुनले निजी अस्पताल सञ्चालकका माग र सुझावबारे आवश्यक छलफल तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।