बुध्द एयरको नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान सुरु
निजी वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। नाइन एन–एओएस (9N-AOS) कलसाइन भएको उक्त जहाजले शुक्रबार बिहान काठमाडौँबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो।
६६ जना यात्रुसहित जहाजले बिहान ८ बजेर ६ मिनेटमा काठमाडौँबाट नेपालगञ्जका लागि उडान भरेको बुद्ध एयरले जनाएको छ।
कम्पनीले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल ल्याएको थियो। नेपाल ल्याएपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्न र रंगरोगनलगायतका काम सम्पन्न गर्न करिब एक महिना लागेको थियो।
नयाँ एटीआर–७२–६०० जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ।
जहाजमा आरएनपी–एआर (RNP-AR) नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ। आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत यस प्रणालीले कम दृश्यता भएको अवस्थामा समेत उडान तथा अवतरणलाई थप सहज बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ।
नयाँ सिरिजको जहाजमा यात्रुका लागि सिट तथा ओभरहेड बिन पहिलेको सिरिजको तुलनामा ठूलो बनाइएको छ। जहाजभित्रको बनावटमा सुधार गरिएकाले ध्वनि प्रदूषणसमेत अघिल्लो सिरिजभन्दा कम हुने बुद्ध एयरले जनाएको छ।
कम्पनीले केही समयभित्रै थप एउटा एटीआर–७२–६०० सिरिजको जहाज भित्र्याउने तयारी गरेको छ।
बुद्ध एयरसँग हाल १४ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० जहाज छन्। कम्पनीले यसअघि दुईवटा एटीआर जहाजलाई उडान सेवाबाट बिदाइ गरिसकेको छ। त्यस्तै, कम उडान साइकल भएको एउटा एटीआर–४२–३२० जहाज पार्ट्सका लागि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ।
हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिबद्धताअनुसार बेडामा नयाँ सिरिजको जहाज थप गरिएको बुद्ध एयरको भनाइ छ। नयाँ जहाज थपिएसँगै उडान तथा मर्मत तालिकालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ।
बुद्ध एयरले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान गर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीमा सातामा तीन दिन र कोलकातामा सातामा चार दिन उडान गर्दै आएको छ। पोखराबाट भैरहवा र नेपालगञ्जका लागि पनि कम्पनीले उडान सञ्चालन गरिरहेको छ।