त्रिशूली–३ ‘ए’ सुरुङबाट जीवित उद्धार गरिएका कबीरको सैनिक अस्पतालमा उपचार सुरु
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ।
बाढी आएको १० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका महर्जनलाई घटनास्थलमै प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी उपचार थालिएको हो।
कबीर जीवितै उद्धार भएको खबर पाएपछि उनका आफन्तजन अस्पताल पुगेका छन्। कबीरकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार तथा उपचारमा खटिएका नेपाली सेना, चिकित्सक टोली, आफन्तजन र नेपाल सरकारप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्।
हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने क्रममा कबीरले सुरुमा आफन्तलाई चिन्न नसकेको हीराशोभाले बताएकी छन्। उनका अनुसार कबीरले आफन्तसँग, ‘म कहाँ छु, मलाई के भएको हो ?’ भनेर सोधेका थिए।
विगत १० दिनदेखि दिनरात चिन्ता र पर्खाइमा बसेको परिवारले जीवितै उद्धार भएको खबर पाएपछि ठूलो राहत महसुस गरेको छ। उद्धारपछि कबीरको तस्बिर देख्दा परिवारमा खुसीका आँसु आएको र सबै जना भावुक बनेको हीराशोभाले बताएकी छन्। कबीरको स्वास्थ्य अवस्थाबारे चिकित्सक टोलीले निरन्तर निगरानी तथा उपचार गरिरहेको छ।