संसदमा नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालन
संघीय संसद सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई व्यवस्थित र एकीकृत गर्ने उद्देश्यले नयाँ ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
हाल परीक्षण चरणमा रहेको प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन्।
प्लेटफर्ममा संसदका सूचना, विधेयकको अवस्था, संसदीय क्यालेन्डर, सांसदको उपस्थिति तथा समिति र उपसमितिका विवरण एउटै प्रणालीमार्फत उपलब्ध हुने बताइएको छ। सभामुख अर्यालले संसदीय इतिहासका पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी दीर्घकालसम्म सुरक्षित राख्न र अध्ययन–अनुसन्धानमा सहजता ल्याउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए।
राष्ट्रियसभा अध्यक्ष दाहालले संसद, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई कागजी प्रणालीबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्दा सेवा प्रवाह छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बन्ने विश्वास व्यक्त गरे।
उनले डिजिटल प्रणाली प्रयोगका लागि सांसद तथा कर्मचारीलाई व्यावहारिक र सहज अभिमुखीकरण आवश्यक रहेको उल्लेख गर्दै नेपालको आवश्यकता र अवस्थाअनुसार चरणबद्ध रूपमा डिजिटल प्रणालीलाई अघि बढाउनुपर्नेमा जोड दिए।