प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेकी छन्।
भेटमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण यस्ता विपद्का घटना बढिरहेको बताए। उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण र त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य तथा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।
भेटमा प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रको सम्भावना र विकासबारे चर्चा गर्दै पारस्परिक लाभका क्षेत्रमा अमेरिकी लगानीलाई नेपालले स्वागत गर्ने बताए।
कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन्।