आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहित बिदा दिने प्रस्ताव
सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि विधेयक तयार भइसकेको छ। उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको उनले बताइन्।
प्रस्तावित विधेयकमा आमालाई ६ महिनासम्म तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको स्याहार बिदा दिने व्यवस्था राखिएको छ।
मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताइन्। नवजात शिशुको हेरचाह र परिवारलाई पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको उनको भनाइ छ।