सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले छोराको बैंक खाताको क्यूआर कोडमार्फत ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ।
अख्तियारले उपाध्यक्ष अन्जुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को देहाय (क) बमोजिम कारबाहीको माग गर्दै ४५ हजार रुपैयाँ बिगो कायम गरेको छ।
त्यस्तै, आमासँगको मिलेमतोमा रकम लिएर प्रयोग गरेको आरोपमा छोरा सुनिलविरुद्ध पनि ४५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३(२) बमोजिम सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।