रेशम चौधरी जेलमुक्त, कारागारले बुबा लालबीरलाई जिम्मा लगायो
काठमाडौँ ।नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी ६ वर्ष पछि आज(सोमवार) बिहान जेलमुक्त भएका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान ८ बजे जेलमुक्त भएका हुन् । रेशमलाई उनका बुबा लालबीरको जिम्मा लगाएर पठाइएको छ । सदर खोर डिल्लीबजार कार्यालयका प्रमुख रोमबहादु महतले रेशम चौधरी जेल मुक्त भएको जानकारी दिए ।
उनले भने,‘रेशम चौधरी जेल मुक्त भएका छन् । उनलाई आफन्तको जिम्मा लगाएर पठाइएको छ ।’
टिकापुर नरसंहारमा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३औं दिनमा चौधरीलाई आममाफी दिइएको हो ।
२०७४ फागुनमा पक्राउ परेका उनीमाथि टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बीभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ। उनी २०७४ सालको आमनिर्वाचनमा उनी कैलाली–१ बाट निर्वाचित भएका थिए।