एलपीजी ग्यास वितरणमा गडबडी : सांसद श्रेष्ठ
रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतबाट ग्यास निरन्तर आयात भइरहे पनि बजारमा सहज आपूर्ति हुन नसकेको भन्दै समस्या समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीलाई एउटै ठाउँमा राखेर सार्वजनिक छलफल गर्न माग गरे।
उनले ग्यास आपूर्ति रोकिएको कारण आम नागरिकले प्रत्यक्ष थाहा पाउने व्यवस्था गर्नुपर्ने बताए। हाल २० वटा गाडीबाट भइरहेको ग्यास ढुवानीलाई बढाएर १०० वटा गाडी परिचालन गरी बजारमा आपूर्ति सहज बनाउन पनि उनले सुझाव दिए।
ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध गराउने योजना तत्काल ल्याउनुपर्ने भन्दै श्रेष्ठले उपत्यकाको समस्या समाधानका लागि सार्वजनिक सम्पर्क नम्बर र गुनासो सुनुवाइको स्पष्ट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।