त्रिशूली-१ बाढी प्रभावित कामदारका परिवारलाई राहत र क्षतिपूर्ति दिन सुरु
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन थालेका छन्।
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी), मुख्य ठेकेदार डुसान इर्नबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन थालेका हुन्।
कम्पनीका अनुसार आर्थिक सहयोग सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराइँदैछ। नजिकका हकदारले पहिचान प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क गर्न सक्नेछन्।
तत्कालीन आर्थिक राहतसँगै एनडब्लुइडसी र ठेकेदार कम्पनीहरूले बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइरहेका छन्।
यसैगरी, आयोजना प्रभावित कामदार तथा कर्मचारीका लागि प्रचलित कानुन र कम्पनीका नीतिअनुसार थप सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
बाढीबाट घाइते अवस्थामा उद्धार गरिएका कामदारहरूको उपचार सम्पन्न भई अस्पतालबाट डिस्चार्ज गरिएको र घाइतेहरूको उपचारमा कम्पनीहरूले निरन्तर सहयोग गरिरहेको जनाइएको छ।
भदौ २३ गतेसम्मको अनुमानअनुसार आयोजनामा कार्यरत ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन अवस्थामा रहेका छन्। आयोजना स्थलमा पुग्न कठिनाइ हुनु खोजी तथा उद्धार कार्यमा ढिलाइ हुनुको प्रमुख कारण बनेको कम्पनीले जनाएको छ।
खोजी तथा उद्धारका लागि डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते आयोजना स्थलस्थित क्याम्पमा पुगेको छ। टोलीले खोजी तथा उद्धार कार्यलाई सहज बनाउन अस्थायी क्याम्प स्थापना गर्न सकिने स्थानको पहिचान सुरु गरेको छ।
एनडब्लुइडसी तथा उसका ठेकेदार कम्पनीहरूले सुरक्षा निकाय र नेपाली उद्धार टोलीको प्रयासमा निरन्तर सहयोग गरिरहेको जनाएका छन्। उद्धार कार्यका लागि आवश्यक सामग्रीसमेत सुरक्षा निकायलाई उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।
खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन ठूला उपकरणहरू हवाई माध्यमबाट आयोजना स्थलसम्म पुर्याउने प्रक्रिया सुरु गर्ने तयारीसमेत भइरहेको छ।
डुसान, एन्ड्रिट्ज र पावर चाइनाका प्रतिनिधिहरूले कामदार तथा कर्मचारीका परिवारबाट प्राप्त हुने प्रश्न तथा सुझावका लागि समन्वय गरिरहेका छन्। कम्पनीहरूले बेपत्ता कामदारको खोजी तथा उद्धारका लागि आफ्नो तर्फबाट सम्भव भएसम्म सबै आवश्यक प्रयास जारी राख्ने बताएका छन्।