कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ । आगामी १५औँ महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
समितिका सदस्य सचिव राजु कटुवालले बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।
पार्टीको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक सम्बन्धी विवाद टुङ्ग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो ।
अधिवेशनका प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ ।