हर्मुज तनावसँगै कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
इरान र अमेरिकाबीचको तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै प्रतिबन्धित क्षेत्र विस्तार गरेपछि तेलको मूल्य बढेको हो।
बिहीबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०१.२८ डलर पुगेको जनाइएको छ। यो जुलाईपछि पहिलोपटक तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको हो।
इरानको रिभोलुसनरी गार्ड्सले हर्मुज जलमार्गमा दुई अमेरिकी जहाजसहित तेल ट्याङ्कर तथा अन्य जहाजमाथि आक्रमण गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। इरानले आफ्नो अनुमति र समन्वयबिना प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध समाप्त भएपछि तेलको मूल्य घट्ने दाबी गरेका छन्। अर्कोतर्फ, इरानले अमेरिकी सैन्य कारबाहीको प्रतिरोध जारी राख्ने बताएको छ। तनाव बढ्दै गए हर्मुज जलमार्गमा विश्वव्यापी तेल आपूर्ति थप प्रभावित हुन सक्ने चिन्ता बढेको छ।