भोटेकोशी उद्धार अभियान डिक्सका लागि जीवनकै कठिन परीक्षा
भोटेकोशी नदीको भीषण बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धार थप जटिल बनेको छ। उद्धार टोलीको नेतृत्व गरिरहेका अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सले नेपालको उद्धार अभियानलाई आफ्नो जीवनकै कठिन परीक्षामध्ये एक भएको बताएका छन्।
सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ श्रमिकको सफल उद्धारमा नेतृत्वदायी भूमिका खेलेका डिक्सले नेपालमा एकैपटक धेरै स्थानमा उद्धार गर्नुपर्ने असाधारण परिस्थिति सामना गरिरहेको बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत सिल्क्यारामा ४१ जनाको ज्यान जोगाउनु असम्भवजस्तै देखिए पनि सफलता हासिल गरिएको स्मरण गर्दै अहिले नेपालमा त्यस्तै ठूलो परीक्षाको सामना गरिरहेको उल्लेख गरेका छन्।
डिक्सका अनुसार परिणाम अनिश्चित र चुनौती कठिन भए पनि जीवन बचाउने प्रयास रोक्नु हुँदैन। उनले आशालाई अनुशासन र करुणालाई कार्यमा बदल्दै दायित्वबाट पछि नहट्नुपर्नेमा जोड दिएका छन्।
भोटेकोशी क्षेत्रमा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा विशेषज्ञ टोली निरन्तर परिचालन भइरहेका छन्।