भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, ४ हजार ७९८ अझै बेपत्ता
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी ज्यान गुमाउनेमा ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुष रहेका छन्।
प्रहरीका अनुसार ५३२ जनाको आंशिक अंगसमेत फेला परेको छ। यस्तै, अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको जनाइएको छ।
हालसम्म १ हजार १४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन बाँकी शव तथा अंगको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार स्वदेशी तथा विदेशी गरी अझै ४ हजार ७९८ जना बेपत्ता रहेका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।