एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले दिए राजीनामा
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट राजीनामा दिएका छन्। बिहीबार नैकापस्थित गोल्डस्टार पार्टी प्यालेसमा आयोजित जिल्ला कमिटीको बैठकमा निरौलाले अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका हुन्। बैठकमा एमाले सचिव डा. राजन भट्टराई र काठमाडौं जिल्ला इन्चार्ज रामेश्वर फुयाँलसमेत उपस्थित थिए।
बैठकको सुरुआतमा निरौलाले आफ्नो कार्यकालमा भएका उपलब्धिबारे धारणा राखेका थिए। त्यसपछि अचानक अध्यक्ष पदबाट राजीनामा घोषणा गरेपछि बैठकमा सहभागी जिल्ला कमिटीका सदस्यहरू अचम्मित बनेको एक जिल्ला कमिटी सदस्यले बताएका छन्।
दुईपटक जिल्ला कमिटीको नेतृत्व सम्हालेका निरौलाले आफ्नो धारणा राखिसकेपछि राजीनामा घोषणा गरेका हुन्। पछिल्लो समय एमाले काठमाडौं जिल्ला कमिटीभित्र जिल्ला प्रतिनिधि परिषद्को कार्यक्रममा कार्यकर्ता तथा समर्थकको सहभागितालगायत विषयमा विवाद रहँदै आएको बताइएको छ।
निरौलाको राजीनामालाई एमालेभित्रको पछिल्लो शक्ति संघर्षसँग जोडेर समेत हेर्न थालिएको छ। बैठकमा उपस्थित सचिव डा. भट्टराई र जिल्ला इन्चार्ज फुयाँल अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने निरौला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेताका रूपमा चिनिँदै आएका छन्।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस उठाउने जिल्ला कमिटी अध्यक्षमध्ये निरौला प्रमुख नेताका रूपमा रहेका थिए। एमालेभित्रको दुई लाइन संघर्षमा उनी भण्डारी पक्षमा सक्रिय रहेको बताइन्छ।
गत भदौमा भएको जेन–जी आन्दोलन र फागुन २१ गतेको निर्वाचनपछि पनि पार्टी नेतृत्वको आलोचना तथा नेतृत्व परिवर्तनको बहसमा निरन्तर सक्रिय रहेपछि अध्यक्ष ओली र बागमती प्रदेश इन्चार्ज महेश बस्नेतलगायतबाट निरौलामाथि पद छाड्न दबाब परेको स्रोतको दाबी छ।
यसैबीच, एमालेभित्र अध्यक्ष ओलीले आफूलाई प्रश्न गर्ने नेताहरूलाई नियन्त्रणमा राख्ने रणनीति अघि बढाएको चर्चा पनि चलिरहेको छ। यद्यपि, यी विषयमा पार्टी नेतृत्वको औपचारिक धारणा सार्वजनिक भएको छैन।
यसअघि २०७१ जेठ २९ गते भएको निर्वाचनबाट निरौला एमाले काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा पुनः निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले ३७० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी निर्मल देउलाले १९१ मत पाएका थिए।