बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ८६ पुग्यो
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २ बजेसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छ ।
फेला परेका शवको पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डीएनए नमुना संकलन गरिएको छ । हालसम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
पहिचान हुन नसकेका १ हजार ३ सय ५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ ।
त्यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय १२ जना राखिएको प्रहरीले जनाएको छ ।