न्यूयोर्कमा जलवायु न्यायका लागि मौन प्रदर्शन गरिने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गरिने भएको छ ।
अमेरिकास्थित गैरनाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्ने प्रदर्शनमार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद् तथा त्यसबाट भइरहेको मानवीय र आर्थिक क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने जनाएको छ ।
प्रधानमन्त्री शाहले राष्ट्रसंघको मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शनमार्फत ‘जलवायु न्याय नेपालका लागि किन आवश्यक छ?’ भन्ने सन्देश विश्वसामु पुर्याउने तयारी गरेको हो ।
प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका विषय उठाइने आयोजकले जनाएको छ । नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल, हिमनदी, नदी प्रणाली र तिनमा आश्रित समुदाय जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइनेछ ।
भिजिट नेपालका अध्यक्ष राजिब राजभाटले नेपालजस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताए । उनका अनुसार नेपाललाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण, सुरक्षित पूर्वाधार, हिमाली क्षेत्रको संरक्षण र जलवायुजन्य विपद् सामना गर्न सक्ने क्षमता विकासका लागि अन्तर्राष्ट्रिय समुदायको ठोस सहयोग आवश्यक छ ।
सेप्टेम्बर २४ को प्रदर्शन शान्तिपूर्ण र मौन रहनेछ । सहभागीहरूले प्लेकार्ड तथा विभिन्न सन्देशमार्फत नेपालको जलवायु जोखिम र जलवायु न्यायको माग विश्व नेताहरू तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने तयारी गरेका छन् ।
अभियानले जलवायु न्यायसँगै नेपालको पुनःउत्थान र पुनर्निर्माणमा पर्यटनको भूमिकालाई समेत जोडेको छ । विपत्तिपछि सम्पूर्ण नेपाललाई असुरक्षित ठानेर भ्रमण रद्द नगर्न तथा सुरक्षित रहेका गन्तव्यमा जिम्मेवार रूपमा यात्रा गर्न अन्तर्राष्ट्रिय पर्यटकलाई आग्रह गरिएको छ ।
यसैबीच, नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा अमेरिकाको डलासमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । भिजिट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा नेपालप्रेमीहरूको सहभागिता थियो ।
कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै बेपत्ता भएकाहरूको सकुशलताको कामना गरिएको थियो । सोही क्रममा डलासबाट उठेको जलवायु न्यायको आवाजलाई अब संयुक्त राष्ट्रसंघ मुख्यालयसम्म पुर्याउने घोषणा गरिएको हो ।
भिजिट नेपालका सदस्य तथा कार्यक्रम सञ्चालक किरण गिरीले विपत्तिको समयमा नेपाललाई सम्झनु मात्र नभई पुनः उभिन सहयोग गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए ।