चीनले इरानलाई अमेरिकी सैन्य अड्डाका स्याटलाइट तस्बिर दिएको अमेरिकी अधिकारीको दाबी
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गर्नुअघि चीनबाट उच्च गुणस्तरका स्याटलाइट तस्बिर प्राप्त गरेको दाबी गरेको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार जुलाई १७ मा भएको उक्त आक्रमणअघि र पछि दुवै समयमा इरानले चिनियाँ निकायबाट स्याटलाइट तस्बिर प्राप्त गरेको थियो । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
जर्नलका अनुसार जारी युद्धका क्रममा चीनले इरानलाई गरेको सहयोगका कारण अमेरिकी सेनाले मानवीय क्षति बेहोरेको यो अहिलेसम्मकै स्पष्ट प्रमाण हो । यद्यपि, अमेरिकी अधिकारीहरूले तस्बिर उपलब्ध गराउने चिनियाँ निकायको नाम खुलाएका छैनन् र यसमा चिनियाँ सरकार प्रत्यक्ष रूपमा संलग्न रहेको आरोप पनि लगाएका छैनन् ।
अमेरिकी उच्च अधिकारीहरूले जुलाई १७ को आक्रमणसँग सम्बन्धित स्याटलाइट तस्बिरको विषय चिनियाँ समकक्षीसँग उठाएका थिए । तर चिनियाँ पक्षले आरोप अस्वीकार गर्दै प्रमाण मागेको अमेरिकी अधिकारीहरूले जर्नललाई बताएका छन् ।
चीनले आफ्ना कम्पनीहरू यस्ता गतिविधिमा संलग्न रहेको आरोप यसअघि पनि पटक–पटक अस्वीकार गर्दै आएको छ ।
यस घटनाले चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सेप्टेम्बर २४ मा हुने तय भएको वार्तामा थप तनाव सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।