लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न ओलीसमक्ष ध्यानाकर्षण
छापा माध्यम बचाउ सुझाव कार्यदलले छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।
कार्यदलका प्रतिनिधिले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या तथा चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन्।
कार्यदलले छापा माध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिए नियमित प्रकाशनमा समस्या आउनुका साथै पत्रकार तथा सञ्चारकर्मीको रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने जनाएको छ।
छापा माध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुपर्ने र यसको रकम कटौती गर्न नहुने माग कार्यदलले अघि सारेको छ।
भेटका क्रममा कार्यदलले छापा सञ्चारमाध्यमको वर्तमान अवस्था, आर्थिक संकट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे अध्यक्ष ओलीसँग छलफल गरेको थियो।
नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीका तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडीसहितको प्रतिनिधिमण्डलले छापा माध्यमको संरक्षणका लागि राज्यको सहयोग आवश्यक रहेकोमा जोड दिएको थियो।
जवाफमा अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोककल्याणकारी विज्ञापनका पक्षमा रहेको स्पष्ट पारेका थिए।