मुस्ताङमा स्याउ टिप्ने र खाने उत्सव सुरु
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ टिप्ने र खाने उत्सव सुरु भएको छ।
कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले असोज ३ देखि १५ गतेसम्म उत्सव आयोजना गरिएको केन्द्रले जनाएको छ। उत्सवमा सहभागी हुन मार्फाका स्याउ बगानमा पर्यटकको चहलपहल बढेको छ।
केन्द्र प्रमुख प्रकाश पन्थका अनुसार स्याउ टिप्ने र बजार पठाउने मुख्य सिजन सुरु भएकाले पर्यटकले बगानमै पुगेर स्याउ टिप्दै खाने अवसर पाएका छन्।
उत्सवमा सहभागी हुन प्रतिव्यक्ति २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। स्याउ टिप्दा हाँगा भाँचेर बोटमा क्षति पुर्याए एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।