कुटपिटबाट घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५, गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय सञ्जय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ २९ गते साँझ मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका सञ्जय र सुनिलबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा सुनिलले सञ्जयमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ।
कुटपिटबाट सञ्जयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगत बगेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।
मेडिकल कलेजमा उपचारकै क्रममा मंगलबार सञ्जयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी मदन थापाले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।