ठमेलमा प्रहरीको स्विप अपरेशन, ५८ विदेशी नागरिक नियन्त्रणमा
प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा स्विप अपरेशन सञ्चालन गरी ५८ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। सोमबार राति सञ्चालन गरिएको अपरेशनका क्रममा चिनियाँ र बंगलादेशी नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार नियन्त्रणमा लिइएकामध्ये चार जना बंगलादेशी नागरिक भिसाको प्रयोजनविपरीत नेपालमा बसेको पाइएको छ। उनीहरूले आईटी क्षेत्रमा काम गर्ने भिसा लिएर काठमाडौंका कपडा पसलमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, दुई जना चिनियाँ नागरिकको भिसाको अवधि समाप्त भएको पाइएको छ। प्रारम्भिक छानबिनका क्रममा भिसासम्बन्धी समस्या देखिएका दुई चिनियाँसहित ६ जना विदेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको एसएसपी घिमिरेले जानकारी दिए।
अवैध गतिविधिमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका अन्य विदेशी नागरिकलाई भने प्रहरीले अनुसन्धानपछि रिहा गरेको जनाएको छ।
प्रहरीले ठमेल क्षेत्रमा विदेशी नागरिकको गतिविधि तथा उनीहरूको कागजातमाथि निगरानी बढाउँदै स्विप अपरेशनलाई निरन्तरता दिएको जनाएको छ।