अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा अरविन्दकुमार झा निर्वाचित
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आईकेएफ) को सचिव पदमा निर्वाचित भएका छन् ।
जापानमा सम्पन्न आईकेएफको जनरल एसेम्बलीबाट झा सचिव पदमा निर्वाचित भएको अखिल नेपाल कबड्डी संघले जनाएको छ ।
झा अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा निर्वाचित भएपछि नेपालका खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउन सहज हुने अपेक्षा गरिएको छ । ‘अन्तर्राष्ट्रिय एक्सपोजरको लागि सहज हुन्छ । कबड्डीको विकासमा सहयोग पुग्छ । अब नेपालमा दुई अन्तर्राष्ट्रिय इभेन्टहरु हुँदैछ । त्यसलाई सहयोग पुग्छ’ सचिवमा निर्वाचित भएका झाले भने ।
नेपालमा हुने दुवै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि एसेम्बलीबाट पारित भएको झाले बताए । नोभेम्बरमा नेपालमा फोर नेसन्स कप र आउने मार्चमा एसियन वुमन्स च्याम्पियनसिप आयोजना हुँदैछ ।
अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा नेपाली प्रतिनिधि निर्वाचित हुनुलाई अखिल नेपाल कबड्डी संघले नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ । झालाई अखिल नेपाल कबड्डी संघ परिवारले बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।