मालपोत अधिकृतसहित ५ जनाविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगरस्थित बहुमूल्य सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साविकको बुझौली गाउँ पञ्चायतमा पर्ने सरकारी (हदबन्दीको) जग्गा भू-माफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा ल्याई राज्यलाई ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ नोक्सानी पुऱ्याएको अख्तियारको जिकिर छ ।
अख्तियारका अनुसार साविक बुझौली ९(ख) का विभिन्न कित्ताका जग्गाहरू २०११ सालको भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै स्वर्गीय सुर्जा मिश्राले हदबन्दीभन्दा बढी भएपछि कालीजी मन्दिरलाई दान दिएका थिए ।
वि.सं. २०२२ सालमै हदबन्दीमा परी सरकारी/सार्वजनिक भइसकेको र फिल्डबुकमा समेत कुनै व्यक्तिको नाम उल्लेख नभएको उक्त जग्गालाई बदनियतपूर्ण ढङ्गले व्यक्तिको नाममा कायम गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
उक्त जग्गा पछि नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गरी मुआब्जाबापतको मोटो रकम हत्याउने उद्देश्यले पर्वत राज काान्त मिश्राको नाममा दर्ता गरिएको पाइएको अख्तियारको दाबी छ । सो कार्यका लागि मालपोत कार्यालय भैरहवाका तत्कालीन कर्मचारीहरूले अदालतको परमादेशको गलत व्याख्या गरी, भूमिसम्बन्धी कानुनको सामान्य कार्यविधि समेत पालना नगरी भू-माफियासँगको आपसी मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पुऱ्याएका थिए ।
मुद्दा दायर गरिएकाहरूमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बाहरू लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी (चाई), तथा खरिदार मेघ बहादुर भुजेल मगर रहेका छन् । उनीहरू प्रत्येकसँग ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।
त्यस्तै, जग्गाधनी भनिएका पर्वत राज काान्त मिश्रालाई मुख्य कसुरदार सरहको सजाय र बिगो असुलउपर गर्न मागदाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।