नागढुंगा नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध
नागढुंगा चेकपोस्टबाट करिब सात सय मिटर पर पात्लेवनमा सडकको एक भाग भासिएपछि बुधबार पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
सडक विभागका अनुसार करिब तीन मिटर चौडा सडकखण्ड भासिएको हो। थप क्षति हुन नदिन सावधानीस्वरूप यातायात सञ्चालनमा रोक लगाइएको छ।
इन्जिनियर राजीव मानन्धरका अनुसार अहिले साना सवारीसाधनलाई नागढुंगा सुरुङमार्ग हुँदै डाइभर्सन गरिएको छ। भासिएको सडकखण्डमा ग्राभेल भर्ने काम भइरहेको छ।
एक लेनबाट सवारी सञ्चालन गर्न सकिने अवस्था भए पनि सडकमा थप क्षति हुन सक्ने जोखिमका कारण राजमार्ग बन्द गरिएको अधिकारीहरूले बताएका छन्।