चीनतर्फबाट केरुङ नाकासम्मको सडक खुल्यो, भारी उपकरण लैजान सहज
चीनको तिब्बतस्थित केरुङ बन्दरगाह जाने प्रमुख जी–२१६ राष्ट्रिय राजमार्ग पुनः सञ्चालनमा आएको छ। हिलोको लेदोका कारण अवरुद्ध राजमार्ग २४ घण्टाको निरन्तर उद्धार प्रयासपछि बुधबार बिहान खुलाइएको हो।
राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरणलाई प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ। यससँगै बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई थप तीव्र बनाइने चिनियाँ अधिकारीहरूले बताएका छन्।
बरफ–चट्टानको हिमपहिरोपछि केरुङ क्षेत्रमा आएको हिलोको लेदोमा परी १६ जनाको मृत्यु भएको छ भने ५ सय ४६ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
कठिन भूगोल, प्रतिकूल मौसम र बाक्लो हिलोका कारण उद्धारकार्य चुनौतीपूर्ण बने पनि खोजी कुकुर, अत्याधुनिक उपकरण र उद्धार टोलीमार्फत खोजी जारी राखिएको छ।