माथिल्लो त्रिशूली–१ आयोजनामा बाढीको ठूलो क्षति, ५५७ जना अझै सम्पर्कविहीन
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढी र पहिरोका कारण ठूलो क्षति भएको छ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनाको हेडवर्क्स, कार्यालय तथा आवास क्षेत्र बगाएको आयोजनाले जनाएको छ।
आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७६ जनाको उद्धार गरिएको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन्। बेपत्तामध्ये करिब ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको हुनसक्ने आशंका गरिएको छ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीसहित विभिन्न सुरक्षा तथा विशेषज्ञ टोली परिचालन गरिएका छन्। हेलिकप्टर, ड्रोन तथा आधुनिक प्रविधिको प्रयोग गरी खोजी कार्य जारी राखिएको छ।
आयोजनाले बेपत्ता व्यक्तिका परिवारसँग समन्वय गर्दै उपलब्ध सबै स्रोतसाधन प्रयोग गरेर खोजी तथा उद्धारलाई तीव्रता दिने जनाएको छ। बाढीबाट आयोजनाको संरचनामा भएको क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ।