रूस–युक्रेन युद्धको छायामा जी–२० अर्थमन्त्री बैठक सम्पन्न
काठमाडौं । रूस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, विश्वव्यापी व्यापार असन्तुलन तथा युक्रेनलाई निरन्तर सहयोगका विषयमा मतभेदबीच जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुईदिने बैठक अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ।
बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई समर्थन गरे पनि रूसको सहभागिता, होर्मुज जलडमरूमध्यको सुरक्षा, व्यापार असन्तुलन र युक्रेनलाई सहयोगलगायत विषयमा मतभिन्नता देखिएको थियो।
रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको सहभागिताप्रति युक्रेनका साझेदार राष्ट्रहरूले असन्तुष्टि जनाएका थिए। युरोपेली अधिकारीहरूले युक्रेनमा रूसले युद्ध जारी राखिरहेका बेला अन्तर्राष्ट्रिय मञ्चमा रुसी प्रतिनिधिको सहभागितालाई सामान्य रूपमा स्वीकार गर्न नहुने धारणा राखेका थिए।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने रुसी अर्थमन्त्रीको उपस्थितिले बैठकको छलफलमा उल्लेखनीय प्रभाव नपारेको दाबी गरेका छन्। विभिन्न पक्षसँग संवाद कायम राख्नु आवश्यक रहेको उनको भनाइ थियो।
बैठकको अध्यक्षीय वक्तव्यमा होर्मुज जलडमरूमध्यबाट सुरक्षित र पूर्वानुमान गर्न सकिने ढंगले जलयातायात सञ्चालन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। तर चीनले वक्तव्यको उक्त अंशमा समर्थन जनाएको छैन।
यसैगरी, विश्वव्यापी व्यापार असन्तुलन घटाउने विषयमा पनि बैठकमा छलफल भएको थियो। अध्यक्षीय वक्तव्यमा दीर्घकालीन आर्थिक असन्तुलनले जोखिम सिर्जना गर्न सक्ने भन्दै सदस्य राष्ट्रलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
युक्रेनलाई निरन्तर आर्थिक तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत बैठकमा छलफल भएको छ। युक्रेनमा जारी युद्ध अन्त्य गर्न आवश्यक कदम चालिनुपर्नेमा युरोपेली देशका अर्थमन्त्रीहरूले जोड दिएका छन्।
जी–२० मा १९ देशसँगै युरोपेली संघ र अफ्रिकी संघ सदस्य छन्। एशभिलमा सम्पन्न अर्थमन्त्रीस्तरीय बैठकले आगामी डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनका लागि आधार तयार गरेको छ।