मैवाखोलामा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो।
दुर्घटनामा ट्याक्टर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बो बेपत्ता भएका छन्। ट्याक्टर भने घटनास्थलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।