सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान बढाइयो
पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर आवागमन प्रभावित भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरले दैनिक उडान संख्या बढाएर ११ वटासम्म पुर्याएको छ।
बुद्ध एयरका भरतपुर कार्यालय प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक अवरुद्ध भएपछि आवश्यकताअनुसार ९ देखि ११ उडान सञ्चालन गरिएको हो।
भरतपुर–काठमाडौं रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। ७२ यात्रु क्षमताको भए पनि भरतपुर विमानस्थलको छोटो धावनमार्गका कारण काठमाडौं जाँदा करिब ५० जना र काठमाडौं आउँदा ६५ देखि ७० जना यात्रु बोक्ने गरेको एयरलाइन्सले जनाएको छ।
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ। तर वर्षायाममा सडक यात्रा असहज भएपछि यात्रुले हवाई यात्रालाई प्राथमिकता दिएका छन्। भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्।
यात्रुको चापलाई ध्यानमा राख्दै उडान संख्या बढाएर आवागमन सहज बनाइएको बुद्ध एयरले जनाएको छ।